विर्तामोड । पत्रकार रवीन्द्र मिश्रले सक्रिय पत्रकारिता छाडेर अब पूर्णकालीन राजनीति गर्ने भएका छन्। बिबिसी नेपाली सेवाका प्रमुख रहेका मिश्रले मंगलबारदेखि उक्त संस्था छाडेका छन्।
मिश्रले केही समयअघि नै दिएको राजीनामा मंगलबारदेखि लागू हुने बताइएको छ।
आफ्नो राजनीतिक जीवनको सुरुवातबारे उनले मंगलबारै घोषणा गर्दैछन्।
मिश्रले आफूले जीवनकै चुनौतीपूर्ण निर्णय गर्न लागेको बताएका छन्। मंगलबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा उनले एक घण्टामै आफ्नो जीवनको सबैभन्दा चुनौतीपूर्ण निर्णय सार्वजनिक गर्न लागेको बताएका हुन्।
‘अबको १ घण्टामा मैले जीवनकै सबैभन्दा चुनौतिपूर्ण निर्णय प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्दैछु’, उनले भनेका छन्, ‘जुन मेरो फेसबुक र ट्विटरबाट पनि उपलब्ध हुनेछ।’
केही वर्षयता मिश्रले नेपाली राजनीतिमा नयाँ शक्तिको आवश्यकता भएको भन्दै सार्वजनिक पैरवी गर्दै आएका छन्। हाल उनीसँग नयाँ दल खोल्न कस–कसले काम गरिरहेको भन्ने कुरा सार्वजनिक भइसकेको छैन।
उनले ‘हेल्प नेपाल’ नामक सामाजिक संस्था पनि सञ्चालन गरेका छन्।
मिश्रका समकालीन राजनीतिबारे लेखिएका दुई गद्य पुस्तक र एक कविता संग्रह पनि नेपालीमा प्रकाशित छन्।