विर्तामोड । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले तोकिएको समयमा स्थानीय निकायको चुनाब हुन नसक्ने दावी गरेका छन् ।
केन्द्र सरकारले स्थानीय निकायको चुनाव गर्न नहुने भएका कारण यो चुनाव हुन नसक्ने उनले बताए । ‘सरकारले प्रदेशको चुनाव गर्नुपर्छ, प्रदेशले स्थानीय निकायको चुनाव गर्ने हो, संघीय प्रेस फोरमले विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने–‘प्रदेशले पाएको अधिकार उपयोग गर्न खोजेर सरकार उल्टो दिशातर्फ हिड्न खोजेको छ ।’
उनले बर्तमान सरकारले स्थानीय निकायको निर्वाचन ग¥र्यो भने संघीयता धरापमा पर्ने धारणा राखे । हालसम्म स्थानीय तह अस्तित्वमा नरहेको भन्दै उनले अस्तित्वमै नरहेको स्थानीय निकायको चुनाव गर्ने भनेर जनतामा भ्रम नबाँड्न सरकारलाई आग्रह गरेका थिए । ‘यो चुनावले स्थानीय निकायलाई केन्द्रको मातहतमा राख्ने प्रयास शुरु गरेको छ, अध्यक्ष यादवले भने–यो संघीयताको बिरुद्वमा गम्भिर षड्यन्त्र हो, यसको हामी डटेर प्रतिकार गछौं । उनले सरकारले नै चुनाव गराउने बिषयमा कुहिराको काग जसरी रुमलिएको आरोप लगाए ।
पुष्पकमल दाहालले सरकार गठनताका मधेसी मोर्चासँग गरेको तीनबुँदे सहमति कार्यान्वयन नगरेको आरोप उनले लगाए । संविधान जारीहुँदाको समयमा भएको आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्ने, राजनीतिक मुद्दा फिर्ता गर्ने र मधेसी मोर्चाको सहमतिमा संविधान संसोधन बिधेयक संसदमा पेश गर्ने सम्झौता भएको उनले बताए । बर्तमान सरकारले सम्झौता कार्यान्वयनमा चासो नराखेपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रक्रिया अघि बढाईएको यादवले बताए ।
सरकार भ्रष्टाचारको चङगुलमा फसेको आरोप उनले लगाए । सरकारले न्ययपालिकालाई राजनीतिक भर्ती केन्द्र बनाएको, भुमाफिया र मानव तस्करलाई राजदुत बनाएर मुलुककै बदनाम गरेको आरोप उनको थियो । सरकार निकम्मा भएकाले समर्थन गरिरहनुको औचित्य नभएको धारणा उनले राखेका थिए ।