विर्तामोड । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एमालेले मधेसी र पहाडीबीच विभाजन ल्याउन खोजेको आरोप लगाएका छन् ।
‘एमालेले गरेजस्तो मधेसीलाई अविश्वास गर्नु पर्ने कुनै कारण छैन’, झापाको विर्तामोडमा शुक्रबार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘मधेसी जनतालाई विभेद गर्नु एमालेको ठूलो दुर्भाग्य हो ।’
मधेसी जनताको जनभावनालाई समेट्ने गरी संसद्मा संविधान संशोधनको प्रस्ताव पेश गरिएको भन्दै उनले कुनै पनि हालतमा यो प्रस्ताव पारित गरेरै छाड्ने ठोकुवा गरे ।
पार्टी सभापति भएपछि पहिलो पटक झापा आएका नेता देउवाले वैशाख ३१ गते जसरी पनि स्थानीय तहको निर्वाचन हुने भन्दै मानसिक रुपमा तयार रहन सबै कार्यकर्तालाई निर्देशन दिए ।
‘संविधानको कार्यन्वयनका लागि स्थानीय निकायको निर्वाचन जसरी पनि गर्नै पर्छ’, उनले भने ।