सामाजिक सञ्जालमा राजनीतिक दलका नेताका तस्वीर विगारे सजाय हुने कानून बनेको बारे समाचार प्रकाशित भयो । हो, सामाजिक सञ्जालमा नेताको मात्र होइन कसैको पनि चरित्र हत्या गर्न पाईंदैन । तस्वीरलाई सम्पादन गरेर अनेक थरी बनाएर पोस्ट गर्नु हुन्न । त्यस्का लागि कानून तयार भयो । स्वागतयोग्य छ । कामना गर्छु पालना होस् । त्यस्तो काम गर्नेलाई कारवाही होस् ।
तर मनमा अनेकौं कुरा खेलिरहेका छन् यतिबेला । सामाजिक सञ्जालमा त्यस्ता तस्वीर आए । मान्छेले फेसबुक अथवा ट्विटरमा पोस्ट गरे । किन गरे ? प्रश्न यहाँनेर छ ।
त्यसरी पोस्ट गरेका तस्वीर सर्वसाधारणको छैन । मैले देखेसम्म त्यसरी तस्वीर विगारेर पोस्ट अधिकांश राजनीतिक दलका नेताका छन् । त्यस्मा पनि जस्का वरिपरि देशको राजनीति घुमिरहेको छ, उनैका तस्वीर त्यसरी विगारिएको छ । किन बिगारे ? जस्ले काम विगारे उनैका तस्वीर विगारे । अरु गर्न के सक्थे र । जे सके त्यो गरे ।
मैले भन्न खोजेको फेरि पनि यो होइन कि उनीहरुले ठिक गरे । ठिक होइन । फेरि पनि भन्छु । तर त्यो गर्न नदिन नेताहरुले के गरे ? आफ्नो आनी बानी सुधारे कि सुधारेनन् ? बोली ठेगानमा राखे कि राखेनन् ? भनेको कुरा पुर्याए ? जनतालाई राहत दिने काम ज्यादा गरे कि आफ्नै सेवा सुविधा बढाउन ज्यादा समय खर्चे ? जनताले भरपर्दो उपचार सरकारी अस्पतालमा पाए ?
यी प्रश्नहरु त केवल केही उदाहरण मात्र हुन् । यस्ता कैयौं प्रश्नहरु तेर्सिरहँदा त्यस्को समाधान तिर लाग्ने हो भने नेताहरुको तस्वीर कसैले पनि विगार्दैन । जनताले सोझै प्रश्न गर्न थालेका छन्, ‘तस्वीर विगार्ने सर्वसाधारणलाई कार्वाही हुने भए देश विगार्ने नेतालाई कसले कार्वाही गर्ने ?’
मेरा मनमा पनि यस्ता कैयौं प्रश्नहरु छन् । म कानून बनेकोमा स्वागत गर्छु । तर मेरा पनि प्रश्नहरु छन् राजनीतिक दलका नेतृत्वका लागि ।
शिक्षामा राजनीतिक गर्न नपाइने भन्ने अनि तिनै शिक्षकलाई आफ्ना कार्यकर्ता किन बनाएको ? सरकारी विद्यालयमा सुविधा खोइ बढाएको ? प्रहरीमा राजनीति गर्नुभयो, कर्मचारीमा राजनीति गर्नुभयो । कहीँ कतै छाड्नु भएन । हुँदा हुँदा स्वतन्त्र पेशा गरिनुपर्ने पत्रकारितामा पनि तपाईंहरुको हालीमुहाली भयो ।
सबै आफ्नो कब्जामा लिनु भयो । खानेपानीमा राजनीति, विद्यालय व्यवस्थापन समिति गठनमा राजनीति । पूर्व पश्चिम हुलाकी मार्ग बनाउने भनेको विगत लामो समय भइसक्यो । खोइ अहिलेसम्म बनाएको ? तपाईंहरुलाई कसले कार्वाही गर्ने ? चारआली केचना सडक किन नबनाएको ?
राजधानी लगायतका स्थानमा धुलो धुवाँका कारण मानिसहरुको स्वास्थ्य विग्रिरहेको छ । यत्रो समय भयो लोकतन्त्र आएको, विकास खोइ ? खोला नाला उत्खननले किसानका खेत सुके । खानेपानीका मुहान सुके । बाटो जीर्ण भएकाले गाडी दुर्घटना भएर कैयौंका परिवार उजाडिए । लेख्दै जाँदा यस्ता प्रश्नहरु अनगिन्ती छन् सर्वसाधारणसंग । तपाईंहरुलाई चाहीँ कार्वाही कसले गर्छ ?