नेपाल पत्रकार महासंघको चुनावको सर्गर्मी छ । विभिन्न प्यानल बनाएर उम्मेद्वार बनाएर चुनावी मैदानमा उम्मेद्वार होमिएका छन् । अहिले समाचारका विषय के हुन्छन् भन्दा पनि चुनावमा कसलाई जिताउने भन्नेतिर पत्रकारवीच चर्चा चलिरहेको छ ।
पत्रकार को हो र कस्तो हुनुपर्छ ? विगतदेखि अहिलेसम्मको परिस्थितिलाई केलाउने हो भने पत्रकार महासंघमा कस्ले नेतृत्व लिइरहेको छ ? अबको नेतृत्व कसलाई दिने भन्ने चर्चा स्वभाविक हो । तर त्यतिमात्र होइन पत्रकारहरु राजनीतिक दलकै चुनाव जस्तो विभिन्न राजनीतिक दलमा आस्था राख्ने पत्रकारका संगठनहरुवीच प्यानल नै खडा गरेर चुनावमा होमिनु पक्कै पनि सकारात्मक कुरा होइन ।
कुनै पनि राजनीतिक दल आबद्ध संगठनमा नरहेका पत्रकारहरु नेपाल पत्रकार महासंघको नेतृत्वमा पुग्न यही पाराले हो भने कहिले पनि सक्दैनन् । के पत्रकार महासंघ राजनीतिक दल आबद्ध संगठनकै मान्छे मात्र पुग्ने ठाउँ हो ? जिल्लादेखि केन्द्रसम्म भागबण्डामा चल्छ भने सर्वसाधारणले के अपेक्षा राख्ने ? कुरा आउँछ, स्वतन्त्र भएर उठे भइगयो नि । तर उसले उठेर मात्र के गर्नु । हावा खानु मात्र हो । उसले जित्नै सक्दैन ।
सर्वसाधारण बुझाइ छ पत्रकार सबैको हो । तर त्यो कुराले अब हावा खाइसक्यो । बाहिर छताछुल्ल भइसकेको छ । कुनै पत्रकार सम्मेलन वा कार्यक्रममा लेख्ने पत्रकारको सहभागिता कति छ ? सामाचार खोज्न कति हिँडेका छन् ? को को हिँडेका छन् ? यस्को लेखाजोखा यो अधिवेशनमा देखिनुपर्छ । साँच्चै पत्रकारले जित्नुपर्छ ।
झापा पत्रकार महासंघमा आबद्ध रहेका पत्रकारहरुको संख्या २ सय ६० भन्दा माथि छ । सबैले लेख्छन् ? रेडियोमा बोल्छन् ? टिभीमा समाचार बनाउछन् ? पढ्छन् ? यदि पेशाबाट पलायन भइसकेका छन् भने उनीहरुको सदस्यता कसरी नविकरण भइरहेको छ ? पार्टीगत संगठनमा त्यस्ता मान्छे चाहिन्छ भने राखे हुन्छ तर पत्रकार महासंघमा होइन । म त भन्छु मैले पत्रकारिता गर्न छोडेकै दिन मेरो सदस्यता खारेज गर्ने निवेदन म आफैं दिनेछु । लेखिन्जेल म पत्रकार हो । लेख्न छोडेको दिन म पत्रकार रहन्न ।
साँच्चै भन्ने हो भने राजनीतिक दलले कुनै संगठन स्वतन्त्र होस भन्ने चाहना राख्दैन । शिक्षकका संगठन राजनीतिक दल आबद्ध संगठनहरु छन् । हरेक पेशागत संगठनमा राजनीतिक दल हाबी छन् । पत्रकारितालाई मर्यादित र स्वतन्त्र बनाउने हो राजनीतिक दलले आफ्ना दल आबद्ध पत्रकारका संगठनलाई खारेज गर्नुपर्छ ।
विगतमा म पनि कुनै राजनीतिक दल आबद्ध पत्रकारको संगठन भित्र रहें जुन मेरो गल्ती थियो । तर अब त्यस्तो हुँदैन । म एक्लो हुँला तर पत्रकारिता पेशालाई स्वतन्त्र र निश्पक्ष बनाउन लडिरहन्छु । आउँदो अधिवेशनमा साथीहरुले पक्कै पनि विवेक पुर्याउनु हुनेछ । राजनीतिक एजेन्डा लाद्न खोज्नेलाई पक्कै पाखा लगाउनु हुनेछ । म कुनै पनि पदमा नउठने घोषणा गरिसकें । तर मेरो प्रयास धुमिल परिस्थितिलाई सङ्लो बनाउने तर्फ हुनेछ । क्रियाशील साथीहरुलाई एक ठाउँमा आउनुहोस । नेतृत्व निर्माण ठूलो कुरा होइन ।