विर्तामोड । दार्जीलिङको प्रमुख इलाका कालिम्पोङ छुट्टै जिल्ला भएपछि छुट्टै स्वायत्त राज्य गोर्खाल्याण्डको आन्दोलन अब कतातिर जाने हो भन्ने चिन्ता व्यक्त हुन थालेको छ । विगत लामो समयदेखि चलेको आन्दोलन सम्झौतामा टुंगिने र आन्दोलनकारी दल पनि त्यसैमा भुल्लिने गरेकाले पनि आन्दोलन शिथिल बन्दै गएको दार्जीलिङ नेपालीभाषी गोर्खालीहरु बताउँछन् । कालिम्पोङलाई छुट्टै जिल्ला बनाइदिएपछि छुट्टै राज्य प्राप्तिका लागि गरिने आन्दोलन थला पर्नसक्नेसम्मको विश्लेषण गर्न थालिएको छ ।
‘टेक केयर अफ माइ न्यु बर्न बेबी’ भन्दै भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले नेपालभाषी गोर्खाली बाहुल्य रहेको पश्चिम बंगालको पहाडि इलाका कालिम्पोङ नयाँ जिल्ला घोषणा गरिन् । उनले मंगलबार कालिम्पोङमा आयोजित एक समारोहमा उक्त घोषणा गरिकी हुन् । कालिम्पोङ अब पश्चिम बंगालको २१ औं जिल्ला भएको छ ।
दार्जीलिङ जिल्लाको एउटा महत्वपूर्ण भाग रहेको कालिम्पोङलाई नयाँ जिल्ला घोषणा गरिएपछि छुट्टै स्वायत्त राज्य गोर्खाल्याण्डको माग तुहिने हो कि भन्ने आशंका सवत्र छ । सन् २००८ बाट शुरु भएको पछिल्लो समयको गोर्खाल्याण्ड आन्दोलन पनि गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिएमा सम्झौता भएपछि उक्त आन्दोलनको नेतृत्व गरेको दल गोर्खा जनमुक्ति मोर्चा पनि त्यही सम्झौतामा भुलिएको आरोप दार्जीलिङबासीको छ ।
कालिम्पोङलाई छुट्टै जिल्ला बनाएर गोर्खाहरुको मागलाई राज्य सरकारले खेल खेलेको भन्ने गरेका छन् । सिलिगुढीका एक जना नेपाली भाषी पत्रकार सिबु क्षेत्रीले राज्य सरकार राज्य फुटाएर अर्काे राज्य बनाउने पक्षमा कहिले नलागेको बताए । उनले भने, ‘राज्य सरकारले जसरी पनि आन्दोलन शिथिल बनाउनमा नै समय खर्चिन्छ । यो पनि एउटा श्रृंखला हो ।’
गोर्खाल्याण्डका लागि आन्दोलन गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चालाई कालिम्पोङ जिल्ला हुँदा निकै ठूलो धक्का लागेको छ । तर कालिम्पोङबासी आफ्नो ठाउँलाई जिल्ला घोषणा गरिँदा खुशी छन् । उनीहरुले प्रशासनिक कामका लागि समय खर्चेर तथा लामो बाटोको यात्रा तय गरेर दार्जीलिङसम्मको यात्रा तय गर्नु नपर्ने भएको छ । नयाँ जिल्लाबाट विकास निर्माणका सम्पूर्ण कामहरु गर्न पाउने छन् । पत्रकार क्षेत्रीले भने, ‘दुर्गम भेगका सर्वसाधारणलाई विकास पनि चाहिएको छ । लामो समयसम्म आन्दोलनमा हिँडेको तर केही नपाएको यर्थाथ पनि त छ ।’
दार्जीलिङमा कालिम्पोङ जिल्ला घोषणाले तरंग ल्याइदिएको छ । मंगलबारको घोषणाले तर्सिएको गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङबासीलाई फेरि आन्दोलनमा उत्रन भनेको छ । तर विगतमा त्यही आन्दोलनको नेतृत्व गरेको मोर्चाका नेतामाथि उनीहरुले विश्वास गर्न सकेका छैनन् । उनीहरु भन्छन्, ‘रातो बत्ती र पैसामा भुलिएकाहरुको कुरामा कसरी विश्वास गर्ने ?’ दार्जीलिङका पत्रकार मोहन लामा भन्छन्, ‘मोर्चालाई यो भन्दा ठूलो धक्का अरु के हुन सक्छ र ।’
जिल्ला घोषणा कार्यक्रममा मुख्यमन्त्री बेनर्जीले कालिम्पोङका जनतालाई सुविधाका लागि जिल्ला बनाइएको बताइन् । उनले भनिन, ‘तपाईंहरु सानो कामका लागि पनि दार्जीलिङ जानुपथ्र्याे । त्यही असुविधा नहोस् भनेर नयाँ जिल्ला बनाइएको हो ।’
कालिम्पोङलाई जिल्ला बनाउने कुरा १४ महिना अघि राज्यको मन्त्री मण्डलले पारित गरेको थियो । राज्य विधानसभाका सदस्य हर्कबहादुर क्षेत्रीले राज्य सरकारले गरेको निर्णय प्रशंसनीय भएको बताएका छन् । क्षेत्रीले भने, ‘विगत लामो समयदेखि कालिम्पोङबासीको चाहनालाई राज्य सरकारले पूरा गरिदिएको छ ।’ कालिम्पोङ जिल्ला भएपछि दार्जीलिङ अब भौगोलिक रुपमा साँघुरिएको छ ।