काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आज दुई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द र सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त गरेको हो ।
दुवै सङ्गठनका प्रमुखको समयावधि समाप्त हुन लागेकाले सरकारले आज नियमित कार्यसूचीबाहेक उक्त नियुक्ति मात्र गरेको सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । दिउँसो ४ बजे बस्ने तय भएपनि मन्त्रीपरिषदको बैठक आकस्मिक रुपमा बिहानै बसेको हो । गृह मन्त्रालयको उच्च श्रोतका अनुसार आइतबार सरकारी कार्यालय खुल्नासाथ सर्वोच्चले चन्दलाई तत्काल महानिरीक्षक नबनाउन अन्तरिम आदेश दिनसक्ने भएपछि १० बजे पहिल्यै मन्त्रीपरिषदको बैठक बसेको हो ।
यसविषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधीबिच शनिबार छलफल भएको थियो ।
सरकारले तेश्रो बरियतामा रहेका प्रहरी नायव महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाएको छ । यो विधि विपपरित हुने भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा शुक्रबार रिट दायर गरेका थिए ।