दमक । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकका हरेक परिवर्तनमा संचार जगतको अतुलनीय योगदान रहेको बताएका छन् ।
हिमशिखर टेलिभिजनको सातौं बार्षिक उत्सब तथा हिमशिखर मिडिया प्रा.लीद्वारा संचालनमा ल्याईएको रेडियो हिमशिखर १ सय ३ दशमलब ३ मेगाहर्जको बुधबार दमकमा उद्धघाटन गर्दै उनले यस्तो बताएका हुन् ।
रेडियोको उद्धघाटन गर्दै एमाले अध्यक्ष ओलीले हिमशिखर टेलिभिजनले आफ्नो जुन पहिचान बनाएको छ त्यहि पहिचान रेडियो हिमशिखरले पनि बनाउन सकोस् भनी शुभकामना दिएका छन् । टेलिभिजन आफ्नो प्रशारणको छोटो अवधीमा धेरै दर्शकको रोजाईमा परेको भन्दै उनले आगामी दिनमा टेलिभिजनको उत्तरोत्तर प्रगतीको कामना पनि गरेका छन् ।
एमाले अध्यक्ष ओलीले हिमशिखर टेलिभिजनले दमकलाई मात्र नभएर पूर्वाञ्चललाई नै विश्वसामु चिनाउन प्रयासरत रहेको प्रति खुशी पनि ब्यक्त गरे । उनले समाजमा रहेका बिकृति, बिसंङ्गती र भ्रष्टाचार बिरुद्ध निरन्तर मोफशलबाट खबरदारी गरिरहेको हिमशिखर टेलिभिजनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछ भन्ने विश्वास पनि ब्यक्त गरे ।