झापा- झापाको बुद्धशान्ति गाउँपालिकामा काठको गोलिया बोकेको ट्रक दुर्घटना हुँदा चारजना कामदार गम्भीर घाइते भएका छन्।
शनिबार दिउँसो ३ बजे बुद्धशान्ति–५ स्थित गढीगाउँको भित्री सडकखण्डमा ठुटेबरबाट मंगलबारेतर्फ जाँदै गरेको ना.६ ख.७९५४ नम्बरको ट्रक अनियन्त्रित भई सडकको बायाँतर्फ पल्टिएको हो।
दुर्घटनामा घाइते हुनेहरूमा अर्जुनधारा–१० का ४० वर्षीय ट्रक चालक अनुकुमार चौधरी र सोही ठाउँका २८ वर्षीय मुकेश मगर रहेका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
चालक चौधरीको छाती र टाउकोमा चोट लागेको छ भने मगरको दाहिने हात र खुट्टामा चोट लागेको छ।
त्यसैगरी, दुर्घटनामा परी ३० वर्षीय अमिर तामाङ र २२ वर्षीय राकेश तामाङ गम्भीर घाइते भएका छन्।
टाउको, खुट्टा र अनुहारमा गम्भीर चोट लागेका उनीहरू दुवैजना बोल्न नसक्ने अवस्थामा रहेका छन्। घाइते चारैजना ट्रकमा काठ लोड-अनलोड गर्ने कामदारहरू हुन्।
सबै घाइतेहरूको हाल बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाग्रस्त ट्रक घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
