झापा- काठमाडौंमा कुटपिट तथा लुटपाट गरी फरार रहेका दुईजना अभियुक्तलाई प्रहरीले झापाको बिर्तामोडबाट पक्राउ गरेको छ।
गएराति ११ बजे बिर्तामोड नगरपालिका वडा नं. १ स्थित पाथीभरा सिनेप्लाजा नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको सादा पोसाकको विशेष टोलीले गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ पर्नेहरूमा इलामको सूर्योदय नगरपालिका वडा नं. १४ बस्ने ३३ वर्षीय दिपक राई र सुर्खेतको चिङ्गाड गाउँपालिका वडा नं. ५ बस्ने ४१ वर्षीय रमेश कुडा मगर रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका दुवैजना काठमाडौं महानगरपालिका–१४ स्थित ध्याङखेलमा भएको कुटपिट तथा लुटपाटको घटनामा संलग्न भई फरार रहँदै आएका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको र उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
