काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको सार्वभौमिकता कमजोर पार्ने प्रयास भइरहेको भन्दै आफू नारायणहिटी दरबारबाट बाहिरिए पनि जिम्मेवारीबाट टाढा नरहेको बताएका छन्।
पृथ्वी जयन्तीको अवसरमा एक विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहाले नारायणहिटीबाट बाहिरिए पनि जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस कहिल्यै नगरेको बताएका हुन्।
‘स्मरणीय छ, नेपाली जनताको नेपाली जनताको इच्छा नै राजइच्छा हूने परम्परा रही आएको यस मुलुकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं,’ विज्ञप्तिमा शाहले भनेका छन्, ‘तर, जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं।’
पूर्वराजा शाहले राजसंस्था समाप्त भएको दशक नबित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ता देखिएको बताएका छन्। उनले देश कसैको क्रिडास्थल हैन, हुन सक्दैन र हुन पनि दिइनु हुँदैन भन्दै आक्रोश व्यक्त गरेका छन्।
राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्नु सबै देशभक्त नेपालीका लागि गंभिर चिन्ताको विषय बनेको उनले बताएका छन्।