झापा- झापाको दमकमा बुधबार दिउँसो टिपर र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुईजना युवाको ज्यान गएको छ।
दमक नगरपालिका–१ स्थित बरगाछीमा भएको उक्त दुर्घटनामा परी इलामको चुलाचुली गाउँपालिकाका दुई युवकको मृत्यु भएको हो।
प्रहरीका अनुसार बुधबार दिउँसो ३:३० बजे दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल बरगाछीस्थित भित्री सडकखण्डमा एकापसमा ठोकिएका थिए।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार इलामको चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र सोही स्थानका १९ वर्षीय जनम राई गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि दमक अस्पताल पुर्याइएको भए तापनि उपचारकै क्रममा दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय दमकले टिपर चालक उदयपुरको त्रियुगा नगरपालिका–९ रातमाटे बस्ने ३२ वर्षीय हिबराज रायलाई नियन्त्रणमा लिएको छ।
