झापा- झापाका विभिन्न स्थानमा नक्कली सुनलाई सक्कली भन्दै धितो राखेर ठगी गर्ने एक पेशेवर ठगलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका वडा नं. ३ निवासी ४३ वर्षीय जितबहादुर बिक रहेका छन्। उनले भद्रपुर बजारस्थित भोजपुर ज्वेलर्समा सुन जस्तो देखिने पहेलो धातु (नक्कली सुन) धितो राखेर नगद ठगी गर्न खोजेका थिए।
गएको माघ १५ गते साँझ बिकले ज्वेलर्समा पुगेर सुन धितो राख्न खोज्दा व्यवसायीलाई शंका लागेको थियो। व्यवसायीले तत्काल वडा प्रहरी कार्यालय भद्रपुरलाई खबर गरेपछि घटनास्थल पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। हाल उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका बिकमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम ठगी कसुरमा मुद्दा दर्ता गरिएको छ। अदालतबाट ५ दिनको म्याद थप गरी उनीमाथि सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बिकले यसअघि पनि बिर्तामोडलगायतका क्षेत्रमा यस्तै शैलीमा ठगी गरेको खुल्न आएको छ। उनले ‘आफूलाई आकस्मिक काम परेको र यो सक्कली गहना हो’ भन्दै सुन पसलहरूलाई विश्वासमा पारेर पैसा लिने गरेको पाइएको छ। प्रहरीले उनको साथबाट ठगीमा प्रयोग गरिने विभिन्न नक्कली गहनाहरू समेत बरामद गरेको छ।
