झापा- विगत केही दिनदेखि सुरक्षाको कारण देखाउँदै रोकिएको पूर्व–पश्चिम एसियन हाइवे विस्तारको काम हिजोदेखि पुनः चालु भएको छ।
निर्माण कम्पनी एभरसकोन–कालिका जेभीले कामदारमाथि हातपात भएको र सुरक्षाको प्रत्याभूति नभएको भन्दै दुई दिनसम्म निर्माण कार्य ठप्प पारेको थियो।
काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वीखण्ड) का प्रमुख सुनिलबाबु पन्तका अनुसार, स्थानीय प्रशासनसँगको समन्वय र सुरक्षाको आश्वासनपछि कम्पनी काममा फर्किएको हो।
स्थानीयले विभिन्न मितिमा नियन्त्रणमा लिएका सातवटा टिपर नियन्त्रणमा लिएका थिए। माघ ९ र १० गते गरी पाँचवटा र पुस २३ गते दुईवटा टिपर स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।
तीमध्ये पाँचवटा अर्जुनधारा नगरपालिका र दुईवटा सब–डिभिजन कार्यालय सुरुङ्गामा राखिएको छ। कम्पनीले ती सवारी साधन छोडिनुपर्ने र काम गर्ने वातावरण सुरक्षित हुनुपर्ने माग राख्दै लिखित पत्राचार समेत गरेको थियो।
काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा एभरसकोन–कालिका जेभीले १० अर्ब ६ करोड रुपैयाँमा लिएको हो।
सम्झौताको म्याद सकिन एक वर्ष बाँकी रहँदा हालसम्म यस खण्डमा करिब ३५ प्रतिशत भौतिक प्रगति भएको छ।
कार्यालयका अनुसार तोकिएको समयभित्र कम्तीमा ७५ प्रतिशत काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणलाई तीव्रता दिइएको छ।
