झापा- काजी मिडिया एन्ड टेक्नोलोजी प्रालिले ‘लोकतन्त्र पोस्ट’ म्यागजिनको लोकार्पण समारोहको अवसरमा आइतबार झापाका १५ जना प्रतिभाशाली युवाहरूलाई ‘पौरखी जेनजी’ सम्मान प्रदान गरेको छ।
श्रम, सिर्जना र आत्मनिर्भरताको मार्गमा लागेका २८ वर्ष मुनिका युवा पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले यो सम्मान आयोजना गरिएको हो। विशेष गरी जेनजी पुस्तालाई केन्द्रमा राखेर तयार पारिएको म्यागजिनको विमोचनसँगै उनीहरूको योगदानको कदर गरिएको हो।
विभिन्न विधामा आफूलाई अब्बल साबित गरेका १५ युवाहरूमा कन्टेन्ट क्रिएटर स्वेता बुढाथोकी, वन्यजन्तु संरक्षक कृपेश कार्की, कराते खेलाडी कृपा चापागाई, डा. चेवनराज कार्की, र गायिका रचना रिमाल रहेका छन्।

त्यस्तै, नवप्रवर्तक सविन बास्कोटा, गायक अशोक दर्जी, उद्यमी कृपा ढकाल, धार्मिक अभियन्ता हरिकृष्ण भण्डारी, पर्वतारोही जयराम दाहाल, फुटबलर अनन्त तामाङ, जलवायु अभियन्ता तनुजा पाण्डे, क्रिकेटर अंकित सुवेदी, कला क्षेत्रकी मनिषा राजवंशी र प्रविधि क्षेत्रबाट राहुल, तेज र उत्सवको समूहलाई सम्मानित गरिएको छ।
उक्त समूहले निर्माण गरेको ‘वाइफाई थिप डिटेक्टर’ एप इजरायली कम्पनीले १३ लाख रुपैयाँमा खरिद गरेको थियो।
सम्मानित युवाहरूको छनौट १ सय ५४ जना आवेदकहरूमध्येबाट महेन्द्रकुमार गिरीको संयोजकत्वमा रहेको एक समावेशी समितिले गरेको थियो।
समितिमा अधिवक्ता तारामणि सापकोटा, फोनिज अध्यक्ष अर्जुन राजवंशी, प्राध्यापक मणिकुमार लिम्बू र पत्रकार पुजन आचार्य सहभागी थिए।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष गिरी, प्रधान सम्पादक मोहन काजी, सम्पादक अम्बिका भण्डारी र पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले संयुक्त रूपमा सम्मान पत्र र खादा ओढाएर युवाहरूलाई सम्मान गरेका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले जेनजी पुस्तालाई नकारात्मक दृष्टिले नभई समाज परिवर्तनको संवाहकका रूपमा हेर्नुपर्नेमा जोड दिए।
लोकतन्त्र पोस्टका प्रधान सम्पादक मोहन काजीले ‘पौरखी जेनजी’ केवल म्यागजिन मात्र नभई यो पुस्ताले सुरु गरेको श्रम र उद्यमको आन्दोलनको दस्तावेज भएको बताए।
वक्ताहरूले वर्तमान युवा पुस्ता परम्परागत रोजगारीको खोजीमा मात्र सीमित नभएर प्रविधि र नवप्रवर्तनतर्फ आकर्षित भइरहेको र यसले मुलुकको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
