झापा- पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको काँकडभिट्टा–लौकही सडक खण्ड विस्तारको काम सुरक्षा अभावका कारण अनिश्चितकालका लागि रोकिएको छ।
निर्माणको जिम्मा पाएको एभरसकोन–कालिका जेभीले कामदार र चालकमाथि भौतिक आक्रमण तथा धम्की आएको भन्दै सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काम अघि नबढाउने घोषणा गरेको हो।
कम्पनीले विशेषगरी स्थानीय केही व्यक्तिहरूको अवरोध र ७ वटा सवारी साधन (टिपर) प्रहरी नियन्त्रणमा रहेको विषयलाई मुख्य मुद्दा बनाएको छ।
निर्माण कम्पनीका प्रतिनिधि उज्ज्वल प्रसाईंका अनुसार बिर्तामोडका सुरेश आलेमगर, राज आङ्देम्बे र उप्रेती थरका एक व्यक्तिले विगत २० दिनदेखि कन्काई नगरपालिका क्षेत्रमा काममा अवरोध पुर्याउँदै आएका छन्।
सुरेश आलेमगर नेकपा निकट अखिल नेपाल खेलकुद महासंघका झापा अध्यक्ष हुन् भने राज आङ्देम्बे एमाले निकट युवा संघका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज हुन्।
उनीहरूले निर्माण सामग्री बोकेका चालकहरूलाई हातपात गर्ने र धम्क्याउने गरेको उजुरीमा उल्लेख छ।
स्थानीयले विभिन्न मितिमा नियन्त्रणमा लिएका निर्माण कम्पनीका ७ वटा टिपरमध्ये ५ वटा अर्जुनधारा नगरपालिका र २ वटा सब-डिभिजन वन कार्यालय सुरुङ्गामा राखिएका छन्।
काँकडभिट्टा–लौकही सडक योजना कार्यालयका प्रमुख सुनिलबाबु पन्तले निर्माण कम्पनीले लिखित रूपमै काम रोकेको जानकारी दिएपछि सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको बताए।
यद्यपि, निर्माण कम्पनीले भने नियन्त्रणमा लिइएका गाडी नछोडेसम्म र निर्भयपूर्वक काम गर्ने वातावरण नबनेसम्म काम सुचारु नगर्ने अडान राखेको छ।
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले शान्ति सुरक्षाको जिम्मा प्रहरीको भएकाले इलाका प्रहरी कार्यालय बिर्तामोडलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइसकेको जानकारी दिए।
बिर्तामोडका डीएसपी विजय श्रेष्ठले सुरक्षाका लागि निवेदन प्राप्त भएको र यसबारे समन्वय भइरहेको बताए पनि अहिलेसम्म कसैमाथि औपचारिक उजुरी भने दर्ता नभएको स्पष्ट पारेका छन्।
एभरसकोन–कालिका जेभीले १० अर्ब ६ करोड रुपैयाँको लागतमा काँकडभिट्टादेखि केर्खासम्मको ४५ किलोमिटर सडक खण्ड विस्तारको ठेक्का पाएको हो।
एसियन हाइवेको मापदण्डअनुसार निर्माण भइरहेको यो राष्ट्रिय गौरवको आयोजना अवरुद्ध हुँदा समयमै काम सम्पन्न नहुने जोखिम बढेको छ।
आइतबारदेखि ठप्प भएको कामले गर्दा सयौँ मजदुर र प्राविधिकहरू अहिले अन्योलमा छन्।
