झापा- झापाको बिर्तामोड नगरपालिका–५ मा अवस्थित पूर्वकै पहिलो गायत्री माता मन्दिरले आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सव आगामी माघ ९ गते मनाउने भएको छ।
मन्दिर व्यवस्थापन समितिले बुधबार मन्दिर परिसरमा पत्रकार सम्मेलन आयोजना गरी वार्षिकोत्सवका अवसरमा आयोजना गरिने विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमबारे जानकारी गराएको हो।
वार्षिकोत्सवको मुख्य आकर्षणका रूपमा माघ ९ गते साँझ ६ बजेदेखि सांगीतिक भजन सन्ध्या आयोजना गरिनेछ। जसमा प्रसिद्ध भजन गायकहरू राजु अधिकारी, रोशन अधिकारी र गुञ्जन दाहालसहितको टोलीले प्रस्तुति दिने कार्यक्रम रहेको छ।
सोही अवसरमा विशेष पूजा-अनुष्ठान, धार्मिक प्रवचन, भव्य श्रृंगारका साथै महाप्रसाद वितरण गरिने मन्दिर संरक्षक समितिका सदस्य भेषराज भण्डारी (प्रशान्त) ले जानकारी दिए।

मन्दिर निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने ७५ जना दाताहरूलाई सोही समारोहमा सम्मान गरिने कार्यक्रम छ। मन्दिर निर्माण समितिका संयोजक तथा संरक्षक रोनक बंशलका अनुसार स्थानीय सरकार, प्रदेश सरकार र व्यक्तिगत दाताहरूलाई उनीहरूको सहयोगको कदर गर्दै सम्मान गर्न लागिएको हो। करिब अढाई करोड रुपैयाँको लागतमा निर्मित यो मन्दिर स्थापनाको एक वर्षभित्रै पूर्वको महत्वपूर्ण धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित भएको छ।
मन्दिर व्यवस्थापन समितिको दाबी अनुसार, सञ्चालनको पहिलो वर्षमै दुई लाखभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरिसकेका छन्। अर्जुनधारा जलेश्वर धामपछि यस क्षेत्रमा बढी भक्तजन आकर्षित गर्ने धार्मिक स्थलका रूपमा यसलाई लिइने गरिएको छ।

गत वर्ष जेठ १७ गतेबाट निर्माण सुरु भई माघ २१ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रतिनिधि सभाका तत्कालीन सभामुख देवराज घिमिरेको उपस्थितिमा मन्दिरको प्राण-प्रतिष्ठा गरिएको थियो।
हाल मन्दिर सञ्चालनका लागि ३१ सदस्यीय व्यवस्थापन समिति र ३१ सदस्यीय सल्लाहकार समिति सक्रिय रहेको छ।
विवेक अग्रवाल संयोजक रहेको व्यवस्थापन समितिले यस क्षेत्रमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
