झापा- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षाका लागि झापामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना प्रक्रिया अघि बढेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार यस पटक निर्वाचन सुरक्षाका लागि कुल ५ हजार ४७९ जनाले आवेदन फाराम भरेका छन्। नेपाल प्रहरीतर्फ ४ हजार ३०८ र सशस्त्र प्रहरीतर्फ ४८९ जना गरी कुल ४ हजार ७९७ जनाको कोटा निर्धारण गरिएकोमा मागभन्दा ६८२ जना बढीले मात्र आवेदन दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले दिएको जानकारी अनुसार आवेदन दिनेहरूमा पुरुषको संख्या ३ हजार ९८३ र महिलाको संख्या १ हजार ५२९ रहेको छ।
नेपाल प्रहरीका लागि ५ हजार २०१ जनाले रुचि देखाए पनि सशस्त्र प्रहरीतर्फ भने कोटाको तुलनामा निकै कम अर्थात् २७८ जनाले मात्र आवेदन भरेका छन्। अघिल्ला निर्वाचनहरूको तुलनामा यस पटक आवेदन दिनेको संख्यामा उल्लेख्य कमी आएको प्रहरीको तथ्याङ्कले देखाउँछ।
विगतका निर्वाचनहरूमा म्यादी प्रहरीका लागि युवाहरूको आकर्षण निकै उत्साहजनक देखिन्थ्यो। २०७९ सालको स्थानीय तह निर्वाचनमा २ हजार ७६४ जनाको माग हुँदा झन्डै चार गुणा बढी अर्थात् ८ हजार ४३९ जनाले आवेदन दिएका थिए।
त्यसैगरी, २०७९ कै मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा ६ हजार ९५८ जना र २०७४ सालको निर्वाचनमा ७ हजार ९०० जनाले आवेदन दिएका थिए। यस वर्षको तथ्याङ्क हेर्दा युवापुस्तामा निर्वाचन प्रहरीको जागिरप्रति रुचि कम हुँदै गएको स्पष्ट देखिन्छ।
छनोट प्रक्रियाका बारेमा जानकारी दिँदै डीएसपी खड्काले पहिलो चरणको नामावली माघ ४ गते प्रकाशन गरिने बताए। त्यसपछि सफल उम्मेदवारहरूको स्वास्थ्य तथा शारीरिक परीक्षण गरिनेछ।
अन्तिम चरणमा लिखित परीक्षा सञ्चालन गरिने र त्यसपश्चात् मात्र छनोट भएकाहरूको अन्तिम नामावली प्रकाशन गरी उनीहरूलाई चुनावी सुरक्षामा खटाइने प्रहरी प्रशासनले जनाएको छ।
