झापा- झापाको दमकमा एक बालिकाको कानको सुनको रिङ लुटेर फरार भएको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा झापा दमकका तीन जना र एक जना भारतीय नागरिक रहेका छन्।
घटना विवरण अनुसार, गत २०८२ साल पुस २४ गते दिउँसो करिब १५:०० बजेको समयमा दमक नगरपालिका वडा नं. ५, लालीगुराँस टोल बस्ने सुमन लिम्बुकी ५ वर्षीया छोरी प्यारोन लिम्बु आफ्नै घर अगाडि खेलिरहेका बेला प्र.१-०१-००१ ह ८३८५ नम्बरको सिटी सफारीमा आएका अभियुक्तहरूले बालिकाले कानमा लगाएको सुनको रिङ नेलकटले काटेर लुटी सोही सफारी प्रयोग गरी फरार भएका थिए।
घटनाको जानकारी पाएलगत्तै खोजी कार्यमा जुटेको इलाका प्रहरी कार्यालय दमकको टोलीले शुक्रबार दिउँसो १६:०० बजेको समयमा दमक–६, वडा कार्यालय अगाडिबाट लुटेराहरूलाई सिटी सफारीसहित फेला पारेको हो।
पक्राउ पर्नेहरूमा दमक नगरपालिका वडा नं. ८ बस्ने १८ वर्षीय संजय माझी, दमक नगरपालिका वडा नं. ७ बस्ने १८ वर्षीय निश्चल विश्वकर्मा, दमक नगरपालिका वडा नं. ६ बस्ने ३८ वर्षीय मेघराज मेहेत्तर, भारतको कोलकाता घर भई हाल दमक–६ बस्ने ५३ वर्षीय रिटन दास रहेका छन्।
नियन्त्रणमा लिइएका चारै जनामाथि इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।
