बिर्तामोड — आधुनिक पत्रकारितामा प्रविधिको बढ्दो प्रयोगलाई आत्मसात गर्दै झापाका महिला पत्रकारहरूका लागि आयोजित दुई दिने ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्बन्धी तालिम सम्पन्न भएको छ।
नारी सञ्चार गृह झापाको आयोजनामा भएको यस कार्यक्रमले महिला सञ्चारकर्मीहरूलाई डिजिटल युगको नयाँ चुनौती र अवसरसँग जुध्न सक्षम बनाउने लक्ष्य राखेको छ।
तालिमको समापन समारोहलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे।
उनले महिला पत्रकारहरूको व्यावसायिक दक्षता वृद्धिका लागि नारी सञ्चार गृहले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा महासंघले पनि यस्ता रचनात्मक कार्यमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

नारी सञ्चार गृहकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पत्रकारितामा एआईको प्रभावबारे विस्तृत छलफल भएको थियो।
अध्यक्ष आचार्यले महिला सञ्चारकर्मीहरूलाई प्रविधिमैत्री बनाउँदै समाचार लेखनमा निपुणता ल्याउन र उनीहरूको आत्मविश्वास बढाउन यो तालिम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरिन्।
प्रशिक्षक उमाकान्त खनालले दुई दिनसम्म चलेको सत्रमा एआईमार्फत समाचार लेखन, तथ्य जाँच (फ्याक्ट चेक), सामग्री सम्पादन र डिजिटल माध्यममा यसका चुनौतीहरूबारे व्यावहारिक प्रशिक्षण दिएका थिए।
सहभागीका तर्फबाट सविना लिम्बूले तालिमले कार्यक्षेत्रमा नयाँ ऊर्जा थपेको र प्रविधिको प्रयोगले काम छिटो र छरितो हुने बताइन्।
आदर्श स्कुल अफ मेनेजमेन्ट र लिंकन मन्टेस्वरीको सहयोगमा सञ्चालित सो कार्यक्रममा प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, संस्थापक अध्यक्ष साबित्रा दाहाल र प्रशिक्षार्थी रमा दाहाल लगायतले मन्तव्य राख्दै पत्रकारितामा प्रविधिको महत्वमाथि प्रकाश पारेका थिए।
