झापा- झापाको बिर्तामोडमा दिउँसै घरको ढोका फोडेर लाखौं मूल्य बराबरको धनमाल चोरी भएको छ।
बिर्तामोड नगरपालिका–३ स्थित कञ्चनजंघा टोलमा सृजना सिवाकोटीको घरलाई निशाना बनाउँदै चोरले करिब २२ लाख रुपैयाँ बराबरको सुनका गरगहना र मोबाइल लुटेर फरार भएका हुन्।
घरमा कोही नभएको मौका छोपेर छतको ढोकाबाट भित्र छिरेका चोरले काठको दराजमा राखिएको ८ तोला सुन र एउटा सामसुङ मोबाइल चोरी गरेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरीले शंकास्पद व्यक्तिहरूको पहिचान र खोजी कार्यलाई तीव्रता दिएको छ।
झापाकै दमकमा भने मोबाइल चोरी गरेर भाग्दै गरेका एक युवकलाई स्थानीयले रङ्गेहात पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्।
दमक नगरपालिका–८ बालुवाटारस्थित तरुल खेतीमा काम गरिरहेका सञ्जु चौधरी र दशरथ चौधरीको मोबाइल लुटेर भाग्दै गर्दा सप्तरीका १८ वर्षीय खुवेत खान पक्राउ परेका हुन्।
बिहानै काममा व्यस्त रहेका मजदुरहरूको ‘भिभो’ र ‘सामसुङ’ कम्पनीका मोबाइल सेट थुतेर भाग्न खोज्दा सँगै काम गर्ने अन्य कामदारहरूले उनलाई लखेटेर समातेका थिए।
पक्राउ परेका खानलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा राखिएको छ।
