झापा- बिर्तामोडमा आफ्नै घरको रेलिङबाट लडेर गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ।
बिर्तामोड नगरपालिका वडा नं. ४, आगमन टोल निवासी रामकुमार कार्कीका ६ वर्षीय छोरा रियान्स कार्कीको गएराति ज्यान गएको हो।
घटना गत पुष २ गते रातिको हो। आफ्नै तीन तले घरको रेलिङमा खेलिरहेका रियान्स राति करिब ८:१५ बजे अचानक भुइँमा खसेका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो।
अस्पतालमा एक सातासम्म सघन उपचार गराइरहेका बालकको हिजो साँझ ७:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। बालकको शव अहिले सोही अस्पतालमा राखिएको छ।
यस घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। सानै उमेरका बालकको असामयिक निधनले आगमन टोल शोकमा डुबेको छ।
