झापा- झापाको बिर्तामोडमा ‘जेनजी’ आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हातहतियार र गोली फेला परेको छ।
हिजो दिउँसो करिब १२:२५ बजे बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित स्यालडाँगीको एक चिया बगानमा ती सामग्रीहरू बेवारिसे अवस्थामा फेला परेका हुन्।
स्थानीयले चिया बगानमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले घटनास्थल पुगेर एक थान इन्सास राइफलको म्याग्जिन र तीन राउण्ड ‘मार्का थ्री’ राइफलको गोली बरामद गरेको छ। बरामद गरिएका सबै गोलीहरू सावुत (नपड्किएको) अवस्थामा रहेका छन्।
प्रहरीका अनुसार, बरामद गरिएका यी सामग्रीहरू केही समय अघि भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडको जिन्सी भण्डार कक्षबाट लुटिएका थिए।
कार्यालयको आधिकारिक अभिलेख भिडाउँदा फेला परेका सामानहरू लुटिएकै सूचीमा रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।
