झापा- झापाको दमकमा ‘जेनजी’ आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका दुईजना थुनुवालाई प्रहरीले शनिबार एकैदिन पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा लागुऔषध मुद्दाका अभियुक्त गौरादह-१ का २५ वर्षीय लुखीराम बास्के र कमल-५ का २६ वर्षीय संजिव लिम्बू रहेका छन्। बास्केलाई गौरादह प्रहरीको टोलीले बेलुका ५ बजे र लिम्बूलाई दमक प्रहरीले बिहान साढे ९ बजे उनीहरूकै कार्यक्षेत्रबाट नियन्त्रणमा लिएको हो।
गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा प्रदर्शनकारीले प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्दा दमक हिरासतबाट ३२ जना थुनुवा फरार भएका थिए।
हालसम्म तीमध्ये ८ जना मात्र पक्राउ परेका छन्। आन्दोलनका बेला प्रहरी कार्यालयका महत्वपूर्ण मिसिल र कागजातहरू जलेर नष्ट भएकाले फरार अभियुक्तहरूको खोजी र कानुनी प्रक्रिया अघि बढाउन प्रहरीलाई निकै सास्ती भइरहेको छ।
डीएसपी लम्सालका अनुसार घटनास्थलको सर्जमिन मुचुल्का समेत नहुँदा पक्राउ कार्यमा बाधा पुगेको छ, यद्यपि नयाँ मिसिल खडा गरेर खोजी कार्यलाई तीव्रता दिइएको छ।
जिल्लाभरको तथ्यांक हेर्ने हो भने ‘जेनजी’ आन्दोलनको समयमा झापाका तीनवटा ठूला प्रहरी कार्यालयहरूबाट कुल ९२ जना थुनुवा फरार भएका थिए। जसमा ७२ जना मुद्दा दर्ता भइसकेका र २० जना अनुसन्धानका क्रममा रहेका व्यक्तिहरू थिए।
हालसम्म बिर्तामोड, दमक र झिलझिलेबाट फरार भएका थुनुवामध्ये एक महिलासहित २८ जना पक्राउ परिसकेका छन् भने ४४ जना अझै प्रहरीको पहुँच बाहिर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोडबाट फरार ३५ मध्ये १८ जना र झिलझिलेबाट फरार ५ मध्ये ४ जना पक्राउ परिसकेका छन्।
प्रहरीले बाँकी फरार रहेका अभियुक्तहरूको खोजी कार्यलाई जिल्लाभर प्रभावकारी रूपमा अगाडि बढाइएको जानकारी दिएको छ।
