झापा- झापामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा ४१ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा एक महिला र ४० जना पुरुष छन्। यस आन्दोलनमा प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनीमा संलग्न रहेको भन्दै झापाका ९४ जनामाथि उजुरी परेको थियो। पक्राउ परेका ४१ जनाबाहेक ५३ जना भने अझै फरार छन्।
पक्राउ परेका र उजुरी परेकाहरूको विवरण विभिन्न प्रहरी कार्यालयअनुसार फरक-फरक छन्। इलाका प्रहरी कार्यालय (इप्रका) काँकडभिट्टामा ३० पुरुष र एक महिला गरी ३१ जनामाथि उजुरी परेकोमा दुईजना पुरुष पक्राउ परेका छन्।
इप्रका बिर्तामोडमा २४ पुरुष र एक महिला गरी २५ जनामाथि उजुरी परेकोमा एक महिला र १७ पुरुष गरी १८ जना पक्राउ परेका छन्। त्यसैगरी, इप्रका दमकमा ३८ जना पुरुषमाथि उजुरी परेकोमा २५ जना पक्राउ परेका छन्।
पक्राउ परेका ४१ जनामध्ये ४ जनामाथि दोहोरो मुद्दा चलाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार, यीमध्ये १९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
यस्तै, १३ जना धरौटीमा छुटेका छन्, ४ जना हाजिर जमानीमा छुटेका छन् भने ५ जना प्रतिवादीहरू अनुसन्धानकै क्रममा रहेका छन्।
जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयहरूमा तोडफोड र आगजनी गरी आपराधिक उपद्रव कार्यमा संलग्नमाथि १५ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
