झापा- चार दिनअघि भारतको गोवास्थित एक नाइट क्लबमा भएको आगलागीमा परी मृत्यु भएका दुई झापाली युवाको शव नेपाल ल्याइएको छ।
बुधबार दिउँसो २ बजे भद्रपुर वडा न.५ स्थित मेची पुल हुँदै उनीहरूको शव ल्याइएको हो। मृतक युवाहरूमा भद्रपुर-३ गोलेचोकका २० वर्षीय सबिन वि.क. र कचनकवल-२ बालुबारीका २१ वर्षीय सुदिप गुरुङ रहेका छन्।
दुबै जनाको शव डब्लुबी ३७५ एएफ३१५२ नम्बरको भारतीय एम्बुलेन्सद्वारा उनीहरूका आफन्तले अन्त्येष्टिका लागि बुझेर नेपाल ल्याएको झापा प्रहरीले जनाएको छ।
सुदिप गुरुङको अन्त्येष्टि बुधबार नै गरिएको र सबिन वि.क. को अन्त्येष्टि बिहीबार गरिने आफन्तले जानकारी दिएका छन्।
गत शनिबार मध्यरातमा गोवाको एक व्यस्त नाइट क्लबमा भएको आगलागीमा परी यी दुई झापाली युवाको ज्यान गएको थियो।
मृतकहरूमध्ये सुदिप गुरुङ होटेल मेनेजमेन्ट अध्ययनका लागि तिहारपछि गोवा गएका थिए भने सबिन वि.क. केही वर्ष अघिदेखि सोही नाइट क्लबमा सेफको रूपमा कार्यरत थिए।
उक्त घटनामा चार नेपालीसहित कूल २५ जनाको मृत्यु भएको थियो। मृत्यु हुने अन्य दुई नेपालीको नाम र ठेगाना भने खुल्न सकेको छैन।
