झापा- सप्तरीको कञ्चनरुप नगरपालिकामा बिहीबार राति बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ११ जना यात्रु घाइते भएका छन्। दुर्घटना पूर्वपश्चिम लोकमार्गअन्तर्गत कञ्चनरुप–२, बरमझियामा राति करिब १०:४५ बजे भएको हो।
दुर्घटनामा जनकपुरबाट काँकडभिट्टातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ ख ०२८७ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३ ख ४४०२ नम्बरको ट्रक संलग्न थिए। बसमा सवार अन्दाजी ५० वर्षीय पुरुषको धर्मेश्वर अस्पताल ठेलिया, सप्तरीमा उपचारका क्रममा राति ११:४५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी माधबप्रसाद काफ्लेले जानकारी दिए। मृतकको नाम, थर र वतन खुल्न सकेको छैन र शव सोही अस्पतालमा राखिएको छ।
बसमा सवार कुल ५५ जना यात्रुमध्ये १२ जना घाइते भएका थिए। एक जनाको मृत्यु भएपछि ११ जना घाइतेको उपचार भइरहेको छ। घाइतेमध्ये केहीलाई धर्मेश्वर अस्पताल ठेलिया, सप्तरीमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित प्राइम अस्पतालमा रेफर गरिएको छ। प्राइम अस्पतालमा उपचाररत घाइतेहरूमा भारतको मधुवनीका मो. सहिद (३२) र अल्ताफ ईनताफ (१२), सुनसरीका शंकरकुमार मेहता (३१), सर्लाहीका मनोजकुमार साह (४०), र मोरङकी कृतिका कोइराला (२७) छन्।
यसैगरी, धर्मेश्वर अस्पतालमा उपचार भइरहेका अन्य घाइतेहरूमा भारतका अनिसकुमार शर्मा (२२), सुभान्सुकुमार झा (२४), र शान्ती देबी (७३), महोत्तरीका जेरुद्र झा (५४), धनुषाका सोनु राम (२३), र झापाकी टिकादेबी दुलाल रहेका छन्।
प्रहरीका अनुसार दुर्घटनापछि ट्रक चालक फरार भएका छन् र उनको खोजी भइरहेको डीएसपी काफ्लेले जानकारी दिए।
