झापा- हुलाकी राजमार्गअन्तर्गत झापाको कन्काई पुलको ठेक्का तोडिने निश्चित भएको छ।
१४ वर्षअघि ठेक्का सम्झौता भएर पनि काम अलपत्र छाडिएपछि सरकारले यस्तो निर्णय लिन लागेको हो। यस पुलको ठेक्का २९ जेठ २०६८ मा भएको थियो, तर अहिलेसम्म यसको भौतिक प्रगति ५६ प्रतिशत मात्र पुगेको छ।
पुलको ठेक्का पप्पु–महादेव खिम्ती जेभीले ३४ करोड ९ लाख रुपैयाँमा लिएको थियो। महादेव खिम्ती कम्पनी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको हो।
सुरुमा ७२५ मिटर लामो यो पुलको काम पप्पु कन्स्ट्रक्सनले सुरु गरेको थियो, जसका मुख्य व्यक्ति पूर्वसांसद हरिनारायण रौनियार हुन्। समयमै काम नसकेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिसकेको छ र यसले नयाँ ठेक्का लिन पाउँदैन।
हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक कुवेर नेपालीले भने, ‘कन्काई पुलको ठेक्का तोड्नुको विकल्प छैन, सूचना निकालेको १५ दिन सकिसकेको छ।’
उनले निर्माण सुरु भइसकेको अवस्थामा पनि फिल्डमा निर्माण व्यवसायीले काम गरेको नदेखिएकोले ठेक्का तोडिने स्पष्ट पारे।
सडक विभागले देशभरका अहिलेसम्म २२९ वटा रुग्ण सडक र पुलका ठेक्का किन नतोड्ने भन्दै सूचना निकालेको छ।
सडक विभागका महानिर्देशक विजय जैसीले उक्त ठेक्काहरूबारे बुझ्ने काम भइरहेको र काममा प्रगति नहुने सबै ठेक्का तोडिने बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समेत झापाको बाढी र डुबान प्रभावित क्षेत्र अवलोकन गर्न आउँदा २६ असोजमा अलपत्र कन्काई पुल पुगेर ठेक्का तोडेर भए पनि निर्माण कार्य अघि बढाउने प्रतिबद्धता जनाएका थिए।
