झापा- इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक सुभाष केसीलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ) घोषित गरेको छ।
शिवसताक्षी नगरपालिका–१०, माइधारका ३३ वर्षीय सरोज शर्मालाई अपहरणपछि हत्या गरिएको घटनाको सफल अनुसन्धान र दोषीलाई कारबाही गर्न उनले खेलेको महत्त्वपूर्ण भूमिकाको मूल्याङ्कन स्वरूप उनलाई यो सम्मान प्रदान गरिएको हो।
प्रहरी निरीक्षक केसीले कात्तिक ९ गते अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वनमा भएको अपहरण, शरीर बन्धक र ज्यान सम्बन्धी कसुरको अनुसन्धान कुशलतापूर्वक अगाडि बढाए।
अनुसन्धानकै क्रममा उनले शङ्कित व्यक्तिहरूको पहिचान र निगरानी गर्दै कात्तिक १३ गते मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनमा मृतक सरोज शर्माले प्रयोग गरेको गाडी जलाएको अवस्थामा फेला पारेका थिए। घटनाको सुक्ष्म अध्ययन गरी शङ्कास्पद व्यक्तिहरूलाई पक्राउ गर्न पनि उनी सफल भएका थिए।
केसीको टोलीले मृतकको शव गाडिएको स्थान पहिचान गरी उत्खनन गरेर लाश फेला पारेपछि अनुसन्धानलाई थप प्रमाणमुखी बनाउन महत्त्वपूर्ण सफलता प्राप्त गर्यो।
यसैबीच, पीडित पक्ष र स्थानीय व्यक्तिहरूले प्रतिवादीहरूको घर तथा सम्पत्तिमा तोडफोड र आगजनी गर्ने प्रयास गर्दा उनले आफ्नो कमाण्डमा टोली परिचालन गरी आक्रोशित भीडलाई नियन्त्रणमा लिए।
यसरी कुनै अप्रिय घटना हुन नदिई धन–जनको क्षतिबाट बचाउनुका साथै पीडित र प्रतिवादी दुवैका परिवारलाई सकुशल उद्धार गरेर समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी निरीक्षक केसीले अहम् भूमिका निर्वाह गरेका थिए।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी निरीक्षक केसीबाट सम्पादित उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै उनलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।
