विराटनगर- झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर ४ गते प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले मेचीनगर-१ का भक्त बहादुर कटुवाल र गणेश पुरीलाई ५ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
यसैगरी लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले भोजपुरका धनिराज राईलाई विराटनगर-१५ स्थितबाट ६ सय ९० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरीको अस्थायी प्रहरी चौकी अमरहाट र तीनकुने धरान-६ पानबारी सामुदायिक बनमा बेबारीसे अवस्थामा जेब्रा झोलामा रहेको २५ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय सिजुवाले पथरीशनिश्चरे-१ का दावा शेर्पा र सुरज राईलाई ५ सय ९० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी नडहाले बराहक्षेत्र-३ स्थितबाट सप्तरीका लालदेव रजकलाई ४० किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरूको थप अनुसन्धान तथा कानूनी कारबाही भइरहेको छ ।
