झापा- झापाको भद्रपुरस्थित झापा कारागारमा कैद भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ।
जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका भारतको पश्चिम बंगाल राज्य, दार्जिलिङ बस्ने ६१ वर्षीय कर्णबहादुर लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो। उनी २०७५ साउन २९ गतेदेखि झापा कारागारमा कैद भुक्तान गर्दै आएका थिए।
आज बिहान ८ बजे अचानक प्रेसर बढेपछि लिम्बूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याइएको थियो। उपचारका क्रममा बिहान ८: ४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काका अनुसार, घटनाको थप अनुसन्धान तथा कानुनी प्रकृया अगाडि बढाउन प्रहरी अधिकृतसहितको टोली खटिएको छ।
मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
