झापा- झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको १३ बार्षिक साधारण सभाका प्रतिवेदन सुझावसहित पारित भएका छन्।
मनमोहन मेमोरियल सामुदायिक अस्पताल र मनमोहन मेमोरियल पूर्वाञ्चल कलेजको मातृ संस्था पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा शनिवार झापाको बिर्तामोडमा सम्पन्न भएको हो।
सभामा संस्थाका अध्यक्ष नरेश खरेलले संस्थाको समग्र प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाको आर्थिक बर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन कोषाध्यक्ष बुद्धिराम भट्टराईले प्रस्तुत गरेका थिए भने लेखासुपरिपेक्षण प्रतिवेदन लेखासुपरिवेक्षण समितिका संयोजक टंक विश्वकर्माले प्रस्तुत गरेका थिए।
प्रस्तुत गरिएका प्रतिवेदनहरूमाथि संस्थाका शेयर सदस्यहरूमाझ छलफल भएको थियो। उक्त प्रतिवेदनमाथि संस्थाका धेरै शेयर सदस्यहरूले सुझाव दिएका थिए। शेयर सदस्यहरूको सुझावसहित ती प्रतिवेदनहरू पारित भएका संस्था सदस्य सचिव रोमनीकुमार भट्टराईले जानकारी दिए।
साधारण सभाले चालु आर्थिक बर्षको लेखा परीक्षणका लागि लेखापरीक्षकको सूचीकरणसमेत गरेको छ। सभाले माइन्युट प्रमाणीकरणका लागि १६ जना शेयर सदस्यहरूसमेत छनोट गरेको सदस्य सचिव भट्टराईले जानकारी दिए।
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईं, सहारा साकोसका कार्यकारी निर्देशक महेन्द्र गिरी तथा संविधान सभा सदस्य सुधीरकुमार शिवाकोटीले आफ्ना धारणा राखेका थिए।
संस्थाका अध्यक्ष नरेश खरेलको अध्यक्षतामा भएको साधारण सभाको सञ्चालन सदस्य सचिव रोमनीकुमार भट्टराईले गरेका थिए।