झापा- इलामको सूर्योदय नगरपालिका-८, पालटाङगेस्थित मेची राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन्।
फिदिमबाट झापातर्फ आउँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको कुखुराको चल्ला बोकेको पिकअप भ्यान एकआपसमा ठोक्किँदा यो दुर्घटना भएको हो।
घाइते हुनेहरूमा मोटरसाइकल चालक पाँचथर, फिदिम-१४ का २७ वर्षीय छबिलाल राई र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका ५० वर्षीय श्रीकुमार राई छन्।
दुवै जनालाई तत्काल उपचारका लागि पार्वती पोलिक्लिनिक फिक्कल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोड रिफर गरिएको छ। छबिलालको अवस्था मध्यम र श्रीकुमारको अवस्था गम्भीर रहेको जनाइएको छ।
दुर्घटनापछि प्रहरीले पिकअप भ्यान र त्यसका चालक इलाम, सूर्योदय-१० का ४० वर्षीय अमिर राईलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
