झापा- झापाबाट इलामतर्फ लैजाँदै गरेको अवस्थामा १ सय ग्राम ब्राउन सुगरसहित दुई जना मेचीनगरबाट पक्राउ परेका छन् ।
बुधबार दिउँसो करिब साढे १२ बजे मेचीनगर–८, गिरीगाउँमा इँटाभट्टाबाट सलकपुरतर्फ जाँदै गरेको मे ११ प ४२३३ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा ब्राउन सुगर बरामद भएको हो ।
मोटरसाइकलका चालक मेचीनगर–८ बस्ने ३२ वर्षीय अजय मेचे र पछाडि सवार भारत नक्सलवारीका ३० वर्षीय टान्टु भन्ने कनकन राह पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, राहले हातमा बोकेको कालो प्लास्टिकको झोलाभित्र रहेको एउटा पोकाभित्र प्लास्टिकसहित १ सय ग्राम ब्राउन सुगर फेला परेको थियो ।
मोटरसाइकल र लागूऔषधसहित दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले बताए ।
