झापा- इलामको सूर्योदय नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा कोशी प्रदेशमा पहिलो स्थान हासिल गरेको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को नतिजाअनुसार सूर्योदय नगरपालिकाले ९०.५० अंक प्राप्त गरी प्रदेशका १३७ पालिकामध्ये सबैभन्दा अगाडि आएको हो।
यो नतिजाअनुसार, सूर्योदय नगरपालिका इलामका १० पालिकामध्ये पहिलो र देशका ७५३ पालिकामध्ये छैटौँ स्थानमा पर्न सफल भएको छ। मन्त्रालयले गरेको गुणस्तर परीक्षणमा नगरपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेको छ, जसमा शासकीय प्रबन्धमा ९, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजनामा ८.५०, वित्तीय व्यवस्थापनमा ११, सेवा प्रवाहमा १३.५०, न्यायिक कार्यमा ७, भौतिक पूर्वाधारमा ११, सामाजिक समावेशीकरणमा ९, वातावरण संरक्षणमा ८, र सहकार्य तथा समन्वयमा ५.५० अंक प्राप्त गरेको छ।
यसै मूल्याङ्कनमा, इलाम नगरपालिका ९० अंकसहित कोशी प्रदेश र इलाम जिल्लाको दोस्रो स्थानमा आएको छ। त्यस्तै, विराटनगर महानगरपालिका ८७.२५ अंकसहित प्रदेशमा तेस्रो भएको छ।
सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले दिगो विकासका लक्ष्यहरूलाई जोडेर काम गर्दा यो सफलता मिलेको बताएका छन्।
उनले भने, “हामीले सबै कानुन र कार्यविधि बनाएका छौँ, र हामी त्यसैभित्र रहेर काम गर्छौं। यो सफलता त्यसैको परिणाम हो।”
