झापा- झापाको दमकमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएका छन्।
मंगलबार बिहान करिब ८ बजे पूर्वपश्चिम लोकमार्ग अन्तर्गत दमकको पशुहाट नजिकै दमकबाट पाडाजुँगीतर्फ गइरहेको प्र१-०२-००२ ख०९१२ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र१-०१-०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार कमल गाउँपालिका–५ बस्ने ४२ वर्षीया मुना गौतमको घटनास्थलमा नै मृत्यु भएको हो। मोटरसाइकल चालक उनका श्रीमान ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन्। उनको बायाँ खुट्टामा सामान्य चोट लागेको छ र उपचारका लागि दमक अस्पताल पठाइएको छ।
इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाको कमान्डमा खटिएको टोलीले मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पतालको शवगृहमा राखेको छ।
ट्रक चालक तेह्रथुम लालीगुराँस नगरपालिका–४ बस्ने २५ वर्षीय आङदावा शेर्पासहित ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
