झापा- झापाको बिर्तामोडका प्रख्यात शिक्षासेवी गुरुभक्त न्यौपानेको ६६ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि अस्वस्थ रहेका उनको आज बिहान ७:४० बजे आफ्नै निवासमा निधन भएको हो।
न्यौपाने कन्चनजंघा अंग्रेजी आवासीय माध्यमिक विद्यालयका संस्थापक प्राचार्य थिए। उनले दुर्गा माध्यमिक विद्यालयमा प्रधानाध्यापकको भूमिका पनि निभाएका थिए।
त्यसैगरी, उनी विराट ज्योति अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपलसमेत रहेका थिए।
शैक्षिक क्षेत्रमा उनको योगदान अतुलनीय मानिन्छ। उनले जिल्लाका विभिन्न विद्यालयहरूमा गरीब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्न अक्षय कोष स्थापना गरेका थिए। उनको निधनले झापाको शैक्षिक क्षेत्रमा ठूलो क्षति पुगेको छ।
केही समयअघिदेखि अस्वस्थ रहेका न्यौपानेलाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको थियो, तर हिजो मात्र उनलाई घर लगिएको थियो।
