झापा- केही दिनयता झापामा लगातार क्षति पुर्याइरहेका जंगली हात्तीको एक समूहले हल्दिबारी गाउँपालिकामा पाँचवटा घर भत्काएको छ। हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छन्।
गए राति करिब १२:३० बजे हल्दिबारी गाउँपालिका वडा नम्बर ३, बाघडाँडामा तीनवटा जंगली हात्ती पसेका थिए। हात्तीले निमाई बानियाँको टिनको छाना भएको घर र एउटा भान्साघर भत्काएको प्रहरीले जनाएको छ। सोही स्थानका हिरालाल मिश्रीको पनि खरको छाना भएको भान्साघर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ।
त्यस्तै, बिहान करिब ३ बजे सोही समूहका हात्तीहरू वडा नम्बर २ को भेलागुडी सिमसारमा प्रवेश गरे। त्यहाँ खेम गौतमको टिनको छाना भएको घर र ४८ वर्षीय नरेश खड्काको एकतले पक्की घरको पूर्वपट्टिको गारो भत्काएको बताइएको छ। हात्तीले गारो भत्काउँदा नरेशकी श्रीमती ४२ वर्षीया अम्बिका खड्का घाइते भएकी छिन्। उनको दाहिने हातको पाखुरा र कुममा चोट लागेको छ।
प्रहरीका अनुसार, हात्तीले भत्काएका घरहरूबाट करिब ७० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान छ। घटनापछि नेपाल प्रहरी र स्थानीयको सहयोगमा हात्तीहरूलाई जंगलतर्फ धपाइएको थियो।
