झापा- बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र संग्रौला र वडाध्यक्ष अजय कार्कीबीचको व्यक्तिगत विवादलाई राजनीतिक ढंगले समाधान गर्न नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहमत भएका छन्।
दुई दलका जिल्ला र नगरस्तरीय नेताहरुको सोमबार साँझ बसेको बैठकले विवादलाई मिलाउने मौखिक सहमति गरेको हो।
बैठकमा सहभागी एमालेका नगर अध्यक्ष सुवास भट्टराईले दुवै जनप्रतिनिधिको व्यक्तिगत विवादले सिंगो नगरपालिका र दललाई अप्ठ्यारोमा पार्न नहुने महसुस गरी विवाद समाधानका लागि छलफल थालिएको बताए।
उपप्रमुख संग्रौला काठमाडौं गएकाले उनी फर्किएपछि दुवैजनालाई एकै ठाउँमा राखेर छलफल गरिने उनले जानकारी दिए।
राप्रपाका जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले विवादलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको र दुवैजनालाई आफ्ना कमजोरी नदोहोर्याउने गरी सहमति गराउने प्रयास गरिने बताए। राप्रपाका नगर अध्यक्ष लक्ष्मी गौतमले पनि बैठक सकारात्मक रहेको प्रतिक्रिया दिए।
बैठकमा एमालेका झापा जिल्ला अध्यक्ष प्रेम गिरी, उपसचिव अनिता कन्दङ्वा, नगर अध्यक्ष सुवास भट्टराई, उपाध्यक्ष मदन बुढाथोकी, जिल्ला पार्टी कार्यालयका सचिव छविलाल विश्वकर्मा लगायतको उपस्थिति थियो। त्यसैगरी राप्रपाका कोशी प्रदेश सचिव कुमार भट्टराई, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा र नगर अध्यक्ष लक्ष्मी गौतम लगायत सहभागी थिए।
यसैबीच, विवादलाई समाधान गर्ने सहमतिसँगै राप्रपाले आज बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई ज्ञापनपत्र बुझाएको थियो। उक्त ज्ञापनपत्रमा उपप्रमुख संग्रौलाले सामाजिक सञ्जालको दुरुपयोग गरी वडाध्यक्ष कार्कीलाई लक्षित गर्दै गरेको नकारात्मक टिप्पणीप्रति आम विर्तामोडबासी समक्ष क्षमायाचना गर्नुपर्ने, उपप्रमुखमाथि विद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्नुपर्ने र राप्रपाले यसअघि बुझाएको २८ बुँदे मागपत्र सम्बोधन गर्नुपर्नेलगायतका माग राखिएको छ।
