झापा- झापा इनर्जी लिमिटेडले आजदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया सुरु गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर आवेदन खुला गरेको हो।
कम्पनीले आफ्नो कुल जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ८० हजार १९० कित्ता सेयर निष्काशन गरेको हो। एक कित्ता सेयरको मूल्य १ सय रुपैयाँ तोकिएको छ।
यस अन्तर्गत, झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा निर्माणाधीन सौर्य विद्युत आयोजना प्रभावित क्षेत्रमा पर्ने स्थानीयहरूका लागि सेयर छुट्याइएको छ। १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र अर्थात् आयोजना स्थल र वरपर १०० मिटरको दूरीभित्रका बासिन्दालाई र बाँकी १ लाख ९० हजार ९५ कित्ता सेयर भने सोही वडाका अन्य स्थानीय बासिन्दालाई छुट्याइएको छ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कुल सेयरमध्ये १० प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता सेयर छुट्याइएको छ।
आईपीओमा सहभागी हुन चाहनेले कम्तीमा १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म सेयरको लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीयबासिन्दाले साउन २८ गतेदेखि भदौ १२ गतेभित्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरूले भने साउन १८ गतेदेखि साउन २८ गतेसम्म आवेदन दिनुपर्नेछ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ। आवेदन दिन इच्छुक स्थानीयले हिमालयन बैंकका दुधे, दमक, र सुरुङ्गा शाखा कार्यालयहरू तथा आयोजनास्थलमै समेत आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने व्यवस्था छ।
यसैबीच, इक्रा नेपालले झापा इनर्जीलाई “ICRA NP Issuer Rating B– (Single B Minus)” प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय उत्तरदायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
