झापा- झापाको कचनकवल गाउँपालिका–७ स्थित सितागढी टोलमा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ।
स्थानीय ५० वर्षीय अरुण राजबंशीको सोमबार राति सिँचाइका लागि मोटरको विद्युत् तार जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार राजबंशी आफ्नै घर नजिक रहेको सिँचाइ मोटर मर्मत गर्दै थिए। सोही क्रममा विद्युत् प्रवाह भइरहेको अवस्थामा तार समाउँदा उनी गम्भीर रूपमा घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरिए पनि घटनास्थलमै ज्यान गएको पुष्टि गरिएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटिई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
राजबंशीको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
Facebook Comments Box
