इलाम – इलामको माइजोगमाई गाउँपालिका–२, लोसेका बासिन्दा विगत एक महिनादेखि चितुवाको आतंकले त्रसित बनेका छन्। चितुवाले गाउँका किसानका पशुचौपायामाथि आक्रमण गर्न थालेपछि उनीहरू समस्यामा परेका हुन्।
लोसेका पशुपालक शेरबहादुर गुरुङले चितुवाको डरले चार दिनदेखि निद्रा नलागेको बताए। गए राति गुरुङको खोरभित्रै पसेर चितुवाले माउ बाख्रा मारेको थियो।
यस्तै, केही दिनअघि पनि लोसेमै चितुवाले खोरभित्रै पसेर तीनवटा बाख्रा खाएको पशु प्राविधिक रबिन गुरुङले जानकारी दिए। “चितुवा खोरमै पसेर खसीबाख्रा लाने भएपछि, गाउँलेलाई रात कटाउनै मुस्किल भएको छ,” उनले भने।
चितुवाको उपद्रो लोसेसम्म मात्र सीमित छैन। शनिबार राति माइजोगमाई–२, मूलखर्कका हर्कसिंह राई र बिज्जेका गोपाल खड्काको खोरमा पनि बाख्रा मरेका छन्। एकपछि अर्को गाउँमा चितुवा देखिन थालेपछि माइजोगमाईका किसान त्रासमा छन्।
माइजोगमाई–३, गुप्तीका रोहित काफ्लेले आफ्नो बोका हरायो भनेर खोज्दै जाँदा साँझ चितुवाको माउ र बच्चा देखेको बताए। “अब बालबालिका पनि घर–विद्यालय गर्न डराउन थालेका छन्,” उनले भने।
वन्यजन्तुको आतङ्कले खसीबाख्रा मात्र होइन, किसानको तरकारी बालीमा समेत असर परेको छ। मकै, फर्सी, स्कुस, आलुजस्ता बाली बँदेल र बाँदरले खाएर नष्ट गरिदिँदा किसानको मेहनत खेर गएको स्थानीयको गुनासो छ।
यति ठूलो समस्या हुँदाहुँदै पनि सरकारी पक्षसँग एकिन तथ्याङ्क छैन। इलाका प्रहरी कार्यालय नयाँबजारका प्रमुख रमेश चौधरीले जङ्गली जनावरले दैनिक क्षति गरिरहे पनि अधिकांश घटना जानकारीमा नआउँदा विवरण सङ्कलन गर्न नसकिएको बताए।
वन्यजन्तुको उपद्रो बढ्दै जाँदा स्थानीय सुरक्षा, पशु स्वास्थ्य तथा कृषिमा नकारात्मक असर पार्ने खतरा देखिएको छ। किसानहरू अहिले उचित सुरक्षा र राहतको माग गरिरहेका छन्। “हामीलाई पशुभन्दा पहिला आफ्नो ज्यानको चिन्ता छ,” किसान शेरबहादुर गुरुङले भने, “न त निद्रा पाएका छौँ, न त राहत।”
