काठमाडौं- नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ।
देशभर अघोषित लोडसेडिङ गरिरहेको प्राधिकरणले अब भने तालिका नै सार्वजनिक गरेर लोडसेडिङ हुने जानकारी गराएको हो। प्राधिकरणले सुरुमा चितवनदेखि लोडसेडिङको तालिका सार्वजनिक गरेको हो। अब चितवनमा दैनिक ६ घण्टा लोडसेडिङ हुनेछ। अब चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुने भएको हो।
नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको हो। अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको तर्क प्राधिकरणको छ।
चनौली वितरण केन्द्रले नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूबाट आपूर्ति हुने स्थानमा लोडसेडिङ हुने जानकारी दिएको छ। नेपाल विद्युत प्राधिकरणले यो तालिका भने क्षणिक समयका लागि भएको जानकारी दिएको छ।
प्राधिकरणमा कार्यकारी निर्देशकका रुपमा हितेन्द्रदेव शाक्य आएपछि देशमा अघोषित लोडसेडिङ सुरु भएको हो। निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि शाक्यले भने लोडसेडिङको तालिका नै सार्वजनिक गरेर फेरि सर्वसाधारणलाई त्रसित बनाएका हुन्।
लोडसेडिङको तालिका
-नारायणी-माडी फिडरहरू : बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म ।
– मेघौली-विजयनगर-शुक्रनगर फिडरहरू : बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म ।
-जगतपुर-रामपुर फिडरहरू : दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म ।
