झापा – झापाको हल्दिबारी गाउँपालिका–४, ओली चोकस्थित एक घरमा ग्यास लिक भई आगलागी हुँदा ६० वर्षीय पूण्यप्रसाद ओलीको उपचारका क्रममा मृत्यु भएको छ।
उक्त आगलागीमा परी घाइते भएका अन्य दुई जना भने डिस्चार्ज भइसकेका छन्।
गत साउन ६ गते बिहान करिब ८:४० बजे पूण्यप्रसाद ओलीको तीनतले पक्की घरको दोस्रो तल्लाको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास अचानक सल्किएर आगलागी भएको थियो। आगो निभाउने क्रममा ओली सहित घरका चार जना घाइते भएका थिए।
घाइतेहरूलाई तत्काल भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल लगिएको थियो। थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएका पूण्यप्रसाद ओलीको साउन १० गते बिहान ११:३५ बजे उपचारकै क्रममा दुःखद निधन भएको हो।
सोही आगलागीमा घाइते भएका ५९ वर्षीया गोमा देवी र ३३ वर्षीय सन्तोष ओली भने उपचारपश्चात् डिस्चार्ज भइसकेका छन्।
Facebook Comments Box
