झापा – झापाको बिर्तामोडमा आज दिउँसो करेन्ट लागेर एक विद्युत् कर्मचारीको निधन भएको छ।
दिउँसो २: २० बजे बिर्तामोड–२, पश्चिम स्टेन्डमा रहेको बिजुलीको ट्रान्समिटर जोड्ने क्रममा अर्जुनधारा–४, भाङबारी बस्ने ३५ वर्षीय दिपक पाण्डेको मृत्यु भएको हो।
उनी नेपाल विद्युत् प्राधिकरणको अनारमनी वितरण केन्द्रमा फिल्डतर्फ ज्यालादारी कर्मचारीका रूपमा काम गर्दै आइरहेका थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार, ट्रान्समिटर जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका पाण्डेलाई सोही कार्यालयका कर्मचारीले उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ल्याएका थिए।
उपचारका क्रममा दिउँसो ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले प्रहरी टोली घटनास्थलमा खटिएर थप अनुसन्धान तथा कानुनी प्रक्रियाअन्तर्गत मुचुल्का तयार गर्ने कार्य भइरहेको जानकारी दिए।
अनारमनी वितरण केन्द्रका प्रमुख संजीवकुमार शाहले पाण्डे ज्यालादारी कर्मचारीको रूपमा काम गर्दै आएको पुष्टि गरेका छन्।
