झापा – झापाको काँकरभिट्टामा हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत, पश्चिम बंगाल जिल्ला दार्जिलिङ, जलपाईगुडी थाना भक्तिनगर सेवक रोड, सिलिगुडी बस्ने २५ वर्षीय प्रतिक अग्रवाल रहेका छन्।
आज बिहान ८:५० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेची भन्सार कार्यालयको परिसरभित्र सवारी साधन तथा यात्रु चेकजाँच गर्ने क्रममा अग्रवालले चलाएर ल्याएको डब्लुबी ७४ एजे ०४०० नम्बरको स्कुटीको डिकीभित्र लुकाइछिपाइ राखेको अवस्थामा एयर पेस्तोलजस्तो देखिने चालु अवस्थामा रहेको हतियार बरामद भएको थियो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिएअनुसार, अग्रवालले बोकेको सानो छालाको साइड ब्यागभित्र प्लास्टिकको पोकोमा १८ थान उक्त हतियारमा लाग्ने मेटल बुलेट र ४ थान मोबाइल फोनसमेत फेला परेको थियो।
अवैध हतियार, मोबाइल र सवारी साधनसहित अग्रवाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
