झापा- झापाको बुद्धशान्ति गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशनको शुक्रबारको बैठकले सीतारमेश क्याम्पसलाई आर्थिक अनुदान दिने प्रस्ताव अस्वीकृत गरेको छ।
सोही विषयले दुई पटकसम्म गाउँसभा स्थगन भएको थियो। शुक्रबारको बैठकमा भने उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएको थियो। प्रस्तावमाथि सदस्यहरूले ‘हुन्न’ भनेपछि उक्त प्रस्ताव अस्वीकृत भएको हो।
तर गाउँपालिका क्षेत्रमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थालाई आर्थिक सहयोग गर्ने विषयमा आगामी आर्थिक बर्षको पहिलो त्रैमासिकभित्र कानुन बनाएर व्यवस्थित गर्ने सभाले संकल्प प्रस्ताव पारित गरेको छ।
सोही विषयलाई लिएर नेपाली काँग्रेस र नेकपा एमालेका सदस्यहरूबीच मतान्तर रहेकाले पालिका अध्यक्ष मनोज प्रसाईंले निर्णयार्थ प्रस्तुत गरेका थिए।
पटक-पटकका छलफलमा पनि निष्कर्ष निस्कन नसकेपछि सभामा निर्णयार्थ प्रस्तुत गरिएको हो। उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थालाई पालिकाले सहयोग गर्न कानुन बनाएर व्यवस्थित गर्ने मध्यमार्गी बाटो निकालिएको हो।
