झापा- बिर्तामोड नगरपालिकाले बुधबार आयोजना गरेको सार्वजनिक कार्यक्रममा नगरवासीले विकास निर्माण र सार्वजनिक चासोका विभिन्न विषयमा जिज्ञासा राखेका छन्।
कार्यक्रममा नगरवासीहरूको सक्रिय सहभागिता थियो।
नगरवासीका प्रश्न र गुनासा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिर्तामोड नगर सभापति दिपक दिनेश दाहालले भ्रष्टाचारको अवस्थाबारे प्रश्न गर्दै नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीलाई सोधे, “भ्रष्टाचारमा पूर्णाङ्क १० मा तपाईं आफूलाई कति नम्बर दिनुहुन्छ?”
नगरवासी लक्ष्मी खरेलले नेताले भनेका ठाउँमा नभई आवश्यकता भएका ठाउँमा बजेट छुट्याएर विकास निर्माणका काम गर्न सुझाव दिए।
उनले वडा नं ४ को कार्यालयमा रहेका प्राविधिकहरूबाट आजित भएको बताए। “बरु वडा ४ बाट प्राविधिक कार्यालय हटाइदिनु। अलि अप्ठ्यारो पर्दा रुने गरेरै भएन,” उनले भने।
सावित्रा खनाल अधिकारीले अदुवा खोला सरसफाइ गरेर फेरि किन बन्द गरियो भनी प्रश्न गरिन्।
रामबहादुर बस्नेतले बिर्तामोडको पश्चिम बस स्ट्यान्ड आसपास लागुऔषध दुर्व्यसनीको संख्या बढेकोमा चिन्ता व्यक्त गर्दै नगर क्षेत्रमा सौर्य बत्ती संरक्षण हुन नसकेको बताए।
स्थानीयबासी लवकुमार चौधरीले सतानु पैनी ढलमा परिणत भएको भन्दै नगरपालिकाले अब के गर्छ भन्दै प्रश्न गरे। उनले पुस्तकालयका लागि कति बजेट र कतिवटा पुस्तकालय बनाउने तथा लागुपदार्थ दुर्व्यसन न्यूनीकरण गर्न कति बजेट छुट्याइनेबारे पनि जिज्ञासा राखे।
नगरबासी सुस्मा भण्डारी पौडेलले उत्तरबाट बग्ने पानीको निकासका लागि नगरपालिकाले के गर्छ भनेर सोधिन्।
जवाफदेही वक्ताहरूको प्रत्युत्तर
नगरवासीले उठाएका जिज्ञासाहरूको जवाफ शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वडा नम्बर ५ का अध्यक्ष रोहित प्रसाईं, वडा नम्बर ४ का अध्यक्ष राहुल शर्मा, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले दिएका थिए।
कार्यक्रम सञ्चालन र उपस्थिति
प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रको सभापतित्व तथा उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन विजय तिम्सिनाले गरेका थिए।
