झापा– धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई (हर्क साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाबीच विवाद चर्किएपछि तनावको स्थिति सिर्जना भएको छ। सोमबार मेयर राईले सञ्चालन गरेको श्रमदान अभियानको डोर हाजिर गरी उपमहानगरपालिकाबाट भुक्तानी लिन खोजेपछि उपमेयर बेघाले त्यसको विरोध जनाएका थिए।
सो घटनापश्चात् मेयर राईले आफ्ना समर्थकलाई कार्यालय बोलाएर आफूमाथि आक्रमणको प्रयास गरेको उपमेयर बेघाले आरोप लगाएका छन्। आक्रोशित बनेका बेघा समूहले पनि मेयर राईविरुद्ध आक्रमणको प्रयास गरेपछि धरानको स्थिति तनावग्रस्त बनेको हो।
दुवै समूहका दर्जनौँ कार्यकर्ताहरू उपमहानगरपालिकामा भेला भई एकअर्काविरुद्ध नाराबाजी र आक्रमणको प्रयास गरेका छन्।
श्रमदानमा भएको खर्चलाई पनि बजेटमा समावेश गर्नुपर्ने भन्दै उपमेयरलाई दबाब दिएको थाहा पाएपछि वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले मेयर साम्पाङको तीव्र विरोध जनाएका छन्।
त्यसपश्चात् मेयर साम्पाङ निकट श्रमदाताहरू र उपमेयर बेघा निकट नेकपा माओवादी धरान १७ का वडा अध्यक्ष मनोजकुमार भट्टराईको नेतृत्वमा धरान नगर अध्यक्ष उद्धव लिम्बूसहित दुवै पक्षका करिब ३५० जना भेला भएको प्रहरीले जनाएको छ।
दुवैतर्फका कार्यकर्ताहरूलाई रोक्न इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगु र वडा प्रहरी कार्यालय धरानका प्रहरी नायव निरीक्षक रुद्र खड्काको नेतृत्वमा ४० जना तथा सशस्त्र प्रहरी बल बेस क्याम्प धरानबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सञ्जीव पौडेलको नेतृत्वमा १३ जना सुरक्षाकर्मी खटिएका थिए।