झापा– दुःखद घटनाक्रममा पूर्वी नेपालमा एकैदिन दुई जंगली हात्ती मृत फेला परेका छन्। एउटा हात्ती झापाको मेचीनगरमा र अर्को सुनसरीको बराहक्षेत्रमा मृत अवस्थामा भेटिएका हुन्।
आज बिहान ८:५५ बजे मेचीनगर नगरपालिका-१, गणेश टोलस्थित मकैबारीमा एउटा पोथी जंगली हात्ती मृत अवस्थामा फेला परेको हो। त्यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका-२, रेल्वे लाइन नजिकै प्रल्हाद थापा र मीना राईको मकैबारीको सिमानामा अर्को एउटा जंगली हात्ती मृत फेला परेको छ।
यसैबीच, आज बिहान ४:३५ बजे मेचीनगर नगरपालिका-१, दुर्जन चोकका ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठ जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन्। आफ्नै बारीमा आएको एक्लो जंगली हात्तीलाई लखेट्ने क्रममा उक्त हात्तीले श्रेष्ठलाई आक्रमण गरेको थियो। घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड ल्याइएको छ।
आज दिउँसो पनि मेचीनगर-२ मा जंगली हात्तीको बथान नै पसेको छ, जसका कारण त्यहाँका स्थानीय नागरिक त्रसित छन्। बिहानैदेखि मेचीनगर-२ स्थित मगर डाँडामा २० भन्दा बढी जंगली हात्ती डुलिरहेका छन्।
स्थानीय प्रवीन चापागाईंले जानकारी दिएअनुसार, उक्त हात्ती चिया बगान, बाँसघारी लगायतका स्थानमा लुक्दै भौंतारिरहेका छन्।